जेठ ३१, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार र सुदृढीकरणका लागि डा. रेवतबहादुर कार्कीको संयोजनमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
डा. कार्कीको संयोजकत्वमा गठित कार्यसमितिमा पूर्वबैंकर भुवनकुमार दाहाल, नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहेका छन् ।
राष्ट्र बैंकले कार्यदललाई एक महिनाभित्र कार्यसम्पादन गरी सुझाव पेश गर्न समयावधि तोकेको छ । कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ ।
यस्तै, आर्थिक गतिविधि पूर्णचलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका , ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम ,बैङ्क तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याको पहिचान तथा समाधानको सुझाव दिन भनिएको छ ।
नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैङ्कको समन्वयात्मक भूमिकाका सम्बन्धमा सुझाव दिन भनिएको छ ।