जेठ ३१, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्तारुढ दलहरूसँग भएको दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताएका छन् ।
शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले गृहमन्त्रीमाथि संसदीय छानबिनका लागि एक महिनाको समयसीमा तोकिएको बताए । तोकिएको समयमा काम सुरु नभए फेरि विरोधमा उत्रिने बताएका हुन् ।
सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमतिमा जानुपरेको उनको भनाइ छ । प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले चेतावनीको भाषा बोलेकोबारे पत्रकारको प्रश्नमा प्रचण्डले त्यसको जिम्मेवार लेखक नै हुने बताए ।
पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साट्यो भन्ने आरोपलाई सोझै इन्कार गरेका प्रचण्डले यी दुई विषयको कुनै साइनो नरहेको बताए । दुई बुँदे सहमतिपछि माओवादी सत्तामा जान चाहेको हो ? भन्ने प्रश्न पनि खण्डन गर्दै उनले यसलाई सत्ताको सहमतिसँग जोड्न नहुने बताउ ।