असार ३, काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आउँदो भाद्रदेखि काठमाण्डौमा १७औं नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ । आयोजना भृकुटी मण्डप परिसरमा भाद्र तीन गतेदेखि ८ गतेसम्म हुने नाडाले जनाएको हो ।
नाडा अटो शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने जनाइएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा असार १ मा गएको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरी नाडा अटो शोको उद्घाटनमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको छ ।
भेटघाटको क्रममा अध्यक्ष चौधरीले धेरै समयपछि नेपालको अटोमोबाइल क्षेत्रसहित निजी क्षेत्रमैत्री बजेट आएकोमा धन्यवाद ज्ञापन गर्दै यसले उद्योग क्षेत्रलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमै पहिलो पटक सिमरामा सवारीसाधन उत्पादन उद्योग खोल्ने तयारी भइरहेको जानकारी दिँदै, यस्ता उद्योगलाई प्रोत्साहन गर्ने नीतिहरू आवश्यक रहेको उल्लेख गरे । साथै, मेनुफ्याक्चरिङ्ग उद्योगमा स्थायित्व र सुविधा वृद्धि गर्न सरकारसँग आग्रह पनि गरिएको थियो ।
अर्थमन्त्री पौडेलले नाडाको आग्रह स्वीकार गर्दै अटोमोबाइल व्यवसायीहरूले राजस्व संकलनमा ठूलो योगदान पुर्याउँदै सरकारलाई सघाउनुपर्ने धारणा राखे ।
उक्त अवसरमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएसन सचिव सुरेन्द्र प्रधानको पनि उपस्थिति रहेको थियो ।