सरकारद्वारा सबै विज्ञापन एजेन्सीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक २१, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक २१, काठमाडौं । सरकारले सबै विज्ञापन एजेन्सीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कडा निर्देशन दिएको छ । सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सबै विज्ञापन एजेन्सीहरुलाई सचेत गराएकि हुन् ।

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था बाध्यकारी भएको उल्लेख गर्दै उनले त्यसमा आवद्ध नहुने विज्ञापन एजेन्सीहरुलाई सरकारी विज्ञापन समेत नदिने निर्णय गरिएको पनि स्पष्ट पारे ।

बिहीबार काठमाण्डाैमा आयोजित ‘सामाजिक सुरक्षा कोष अभिमुखिकरण’ कार्यक्रममा बोल्दै प्रवक्ता भट्टराईले सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कुनै पनि संस्थाको नवीकरण नगर्ने तथा उनीहरुलाई सरकारबाट हुने कुनै पनि सेवा र सुविधासमेत नदिने तयारी गरिएको पनि बताए ।

‘सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कुनै पनि विज्ञापन एजेन्सीलाई सरकारी विज्ञापन समेत नदिने बाध्यकारी व्यवस्था गरिएको छ’, प्रवक्ता भट्टराईले भने, ‘यसमा आवद्ध नहुने कुनै पनि संस्थाको नविकरण र ‘ट्याक्स क्लियरेन्स’ लगायतका काम समेत नगर्ने तयारी पनि सरकारले गरेको छ ।’

यस्तै उनले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका संस्थालाई काम गर्न अनुमति दिन नसकिनेतर्फ पनि सचेत गराए ।

कोषले रकम अभावमा परेका संस्थाहरुलाई भने सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सहजता प्रदान गर्ने पनि जनाएको छ । कोषकी प्रवक्ता भट्टराईले संस्थाको आम्दानीलाई हेरेर सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था पनि गरिएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सबै विज्ञापन एजेन्सीहरुको ध्यानाकर्षण गराएका थिए ।

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन सरकारले मंसिर १३ गतेसम्मको म्याद थपेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस