चैत्र २९,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लक डाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न जरूरी रहेको बताए ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले लक डाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट पारेका छन ।
प्रधानमन्त्री ओलीले भने, “भारतमा सङ्क्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लक डाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म आग्रह गर्दछु ।”
उनले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको स्पष्ट पार्दै सरकार स्वयंले अधिकारका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आग्रह गरे । उनले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए ।
लक डाउनमा प्रशासनिक लापरबाही हुन नहुनेमा जोड दिँदै उनले मेला लाग्ने तथा मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्न प्रशासन र प्रहरी सजग हुनैपर्ने निर्देशन दिए । उनले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लक डाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरे ।
प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट गर्दै सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईलाई अनुरोध गरे ।
उनले कोरोना सङ्क्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोगशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताए ।
करिब ४ घण्टाभन्दा चलेको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका पहल र स्थितिबारे जानकारी गराएका छन ।