फागुण २, जनकपुर । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन सेवा फागुनभित्रै सञ्चालनमा ल्याउने बताएका छन् । मन्त्रालयले शनिबार पत्रकार साम्मेलन गरी पाँच वटा बस फागुन अन्तिम सातासम्म सञ्चालनमा ल्याइने बताएको हो । आम नागरिकलाई सहजताको लागि ल्याइएको बस सेवा प्रदेशको सबै जिल्ला सदरमुकाम भएर गुड्ने छन् ।
सरल तथा सुलभ यातायात सेवा प्रदान गर्ने उद्देश्यले मन्त्रालयले दीपावलीको अवसर पारेर पाँचवटा बस खरिद गरेको थियो । यद्यपि कार्यविधि अभाव तथा भुक्तानी हुन नसकेका कारण केही समय ढिलो भएको मन्त्री सोनलले बताए । कार्यविधि निर्माणमा केही समय लाग्ने भन्दै कार्यविधि निर्माण भए लगत्तै बस सेवा सञ्चालनमा आउने मन्त्री सोनलको भनाइ छ ।