बैशाख ३१, काठमाण्डौ । प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ आज लिँदै छन् । उनी बिहीबार अबेर राति प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दल नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।
बिहीबार नै ओली र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको थियो । यो वार्ता सकारात्मक भएसँगै प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका हुन् । यसअघि प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदमा विश्वासको मत पाएका थिएनन् । उनले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुई वा दुईभन्दा धेरै दललाई बहुमतको सरकार बनाउन आह्वान गरेकी थिइन् ।