जेठ १४, काठमाण्डौ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकका अनुसार पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका—११ मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन् । एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर मृतकका भाइ हुन् भने बाँकी दुई जना मृतकका छोरा हुन् ।
घटनास्थिति बुझ्न आफू पनि नेपालगञ्ज जाँदै गरेको डीआईजी धानुकले बताए । बिहीबार राति बिरामीको मृत्यु भएपछि अस्पतालको कोभिड वार्डमा खटिएका चिकित्सक तथा नर्सहरुमाथि कुटपिट भएको थियो । कोरोना संक्रमितहरुको उपचार हुने कोभिड आईसीयूमा उपचाररत दाङका ५४ वर्षीय संक्रमितको मृत्यु भएपछि उनका आफन्तले आईसीयू कक्षमै पसेर नर्सको घाँटी थिचेका थिए । त्यसपछि अन्य चिकित्सक र नर्समाथि समेत हातपात गरेका थिए ।
ड्युटीमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण हुन थालेपछि बिरामीलाई छाडेर उनीहरुको भागाभाग भएको थियो । कतिपय ज्यानकै जोखिम बढेको भन्दै अस्पतालको माथिल्लो तलाबाट हाम्फालेका थिए । घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।