जेठ १६,काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा आज पनि न्यायाधीशबारे नै बहस भएको छ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा लगायतले न्यायाधीशबारे प्रश्न उठाएका छन् । न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यो मुद्दा हेर्न नमिल्ने उनीहरुको जिकिर छ ।
तर इजलास गठन गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘बायस’ नहुन आग्रह गरे । साथै अघिल्लो संवैधानिक इजलासमा आफू पनि रहेको भन्दै उनले आफ्नो हकमा चाहिं किन प्रश्न नउठाएको भनेर प्रश्न गरेका छन् ।
जवाफमा वरिष्ठ अधिवक्ता थापाले उनलाई त्यस्तो लागे बिदा बस्न सुझाव दिएका छन् ।
नेकपाको एकता खारेज गर्ने फैसला र यो मुद्दाको सम्बन्ध बुझाउने क्रममा उनले भनेका छन्, ‘फैसलाबारे लार्जेस्ट पार्टी ब्रेक गर्नुभयो । कम्युनिस्ट पार्टी ब्रेक गरेर वर्तमान प्रधानमन्त्री रहेको पार्टी लार्जेस्ट भयो र उहाँ लार्जेस्ट पार्टीको प्रधानमन्त्री हुनुभयो । चार स्टेपमा प्रधानमन्त्री नियुक्त गर्ने चरण छ । फेरि संसद विघटन भयो । पहिलेको विघटनमा पनि त्यही नेकपाको पक्ष र विपक्षमा छ लुकाउनुपर्ने छैन । आज पनि त्यही त छ ।’
उनलाई प्रधानन्यायाधीशले अरुलाई झैं प्रश्न गरे, मेरो के हुन्छ ? वरिष्ठ अवस्था थापाले जवाफ दिएका छन्, ‘लिभमा बसे भैहाल्छ ।’