२०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७५ जेष्ठ १६, बुधबार (६ साल अघि)
  • ४६ पटक पढिएको
Post Thumbnail

जेठ १६,काठमाडौँ । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ । पर्यटन क्षेत्रको प्रवर्द्दन गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो विषय समेटिएको हो ।

यसअघि सरकारले सो अवधिमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो पदबहालीका क्रममा सो घोषणा गर्नुभएको थियो । तर बजेटमा भने २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

सरकारले सो अभियानलाई नेपाल भ्रमण वर्ष २०२० मनाउने लक्ष्य राखेको हो । यसअघि सन् १९९८ मा समेत नेपाल भ्रमण वर्षका रुपमा मनाएको थियो । विभिन्न प्रवर्द्दनात्मक अभियानका कारण सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

‘सरकारले भौतिक पूर्वाधारको विकासमा जोड दिँदै पर्यटकीय पूर्वाधारमा लगानी बढाउने लक्ष्य राखेको सरकारले नेपाल नै पहिले’ भन्ने नारालाई समेत बजेटमा स्थान दिएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको सरकारले पहिले नेपाल अनि मात्र विदेश भन्ने अभियानसमेत सञ्चालन गर्न लागेको हो ।

पर्यटनबाट आयआर्जन र रोजगारी बढाउन मनोरञ्जन प्राकृतिक, पूरातात्विक ऐतिहासिक र धार्मिक तथा साहसिक पर्यटनको पूर्वाधार निर्माण, बजार प्रवद्र्धन तथा सेवा सुविधाको विस्तार गर्ने लक्ष्य राखेको छ ।

विशेषगरी भारत र चीनका पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले ती देशमा प्रवर्द्दनात्मका कार्यक्रमसमेत सञ्चालन गर्ने बजेटमा लक्ष्य राखिएको छ । चीन र भारतका करीब अढाइ खर्ब जनसंख्यामध्ये १० प्रतिशतले मात्रै नेपाल भ्रमण गरे त्यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभावपर्ने लक्ष्यका साथ छिमेकी देशलाई पहिलो प्राथमिकतामा राखेको हो ।

हिमाल आरोहणलाई थप सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य बजेटमा राखिएको छ । सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्दनका लागि रु पाँच अर्ब २० करोड ३४ लाख विनियोजन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बजेटमा उल्लेख गरिएका प्राथमिकतालाई कार्यान्वयन गर्न मन्त्रालयले हरसम्भव प्रयास गर्ने बताए ।

उनले भने, “पूर्वाधार विकासको कामलाई तीव्रताका साथ अगाडि बढाउँदै भारत र चीन केन्द्रित पर्यटन प्रवद्र्धनमा विशेष जोड दिइनेछ ।”

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य एवं पर्यटन व्यवसायी दीपक महतले बजेट समग्रमा सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले भने, “कार्यान्वयनमा सरकारले कति इच्छाशक्ति देखाउँछ सोही आधारमा मूल्यांकन गर्न सकिन्छ ।” उनले नेपाल पर्यटन वर्ष २०२० कार्यक्रम ल्याइनु र हवाई क्षेत्रको विकास र प्रवर्द्दन गर्नेसम्बन्धी योजना सकारात्मक रहेको बताए ।
नेपाल पर्वतारोहण संघका महासचिव कूलबहादुर गुरुङले पर्यटन क्षेत्रमा अपेक्षा गरेअनुसारको बजेट नआएको गुनासो गरे । पर्यटक बढाउनका लागि बजेट र पूर्वाधारका कामलाई कम महत्व दिइएको उल्लेख गरे ।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले सरकारले प्रस्तुत गरेको बजेट समग्रमा सकारात्मक रहेको प्रतिक्रिया दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस