कार्तिक २१,काठमाडौँ । अधिक खर्च र अव्यवस्थाका कारण प्रायः आलोचित बनिरहने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खर्च कटौतीसहित वचतको रणनीति अगाडि सारेको छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै खर्च कटौतीका क्षेत्र पहिचान गरी सुधारको प्रयास बढाइएको जानकारी दिए । निगमले तत्काल इन्धन, अधिक उडान खर्च, होटल व्यवस्थापन, इन्जिनियरिङ र कर्पोरेट सुरक्षा विभागजस्ता क्षेत्रमा खर्च बचत गर्नेगरी योजना बनाइसकेको उनले बताए ।
निगमले इन्धन भण्डारण र अनावश्यक प्रयोगमा मात्रै करिब एक अर्ब रुपियाँ अहिलेको खर्चमा कम गर्न सकिने लक्ष्य राखेको छ । त्यस्तै अधिक उडान खर्च शीर्षकमा दुई करोड, त्यस्तै उडान कर्मचारीलाई राखिने होटल व्यवस्थापनको खर्चमा करिब दुई करोड, इन्जिनियरिङतर्फ करिब ११ करोड र कर्पोरेट सुरक्षातर्फ वार्षिक करिब ५६ लाख रुपियाँ खर्च कम गर्ने लक्ष्य निगमले निर्धारण गरेको छ ।
खर्च कटौती मात्र होइन निगमले चालू आर्थिक वर्षमा आफ्नो कुल आम्दानी पनि बढाउने लक्ष्य सार्वजनिक गरेको छ । अध्यक्ष खरेलका अनुसार चालू आवमा निगमको आम्दानी गत आवको तुलनामा करिब दुई अर्बले बढाउने लक्ष्य राखिएको छ ।
उनका अनुसार चालू आवमा १७ अर्ब २५ करोड रुपियाँ आम्दानीको लक्ष्य छ । गत आवमा निगमले १५ अर्ब १४ करोड रुपियाँ आम्दानी गरेको थियो । निगमको सबैभन्दा ठूलो आम्दानीको स्रोतका रूपमा रहेको अन्तर्राष्ट्रिय उडानबाट १२ अर्ब ७५ करोड रुपियाँ आम्दानीको लक्ष्य छ ।
आन्तरिक उडानतर्फ ३२ करोड ४८ लाख, ग्राउन्ड ह्यान्डलिङतर्फ चार अर्ब १६ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य निगमले राखेको छ ।