कार्तिक २२, काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरूलाई एक करोडसम्मको ‘लोन’ प्रवाह गर्ने तयारी गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा योगदान गरेकालाई बढीमा एक करोडसम्मको लोन प्रवाह गर्ने तयारी गरिएको जानकारी दिए।
शुक्रबार सिंहदरबारमा गैर सरकार संस्था महासंघ, नेपाल, उपभोक्ता महासंघ, कर्मचारी संचय कोषलगायतका पदाधिकारीसँगको सामुहिक छलफलमा उनले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरूको मागलाई ध्यान दिनुपर्ने बताए।
उनले सरकारले उनीहरूलाई घरजग्गा वापत बढीमा एक करोड र शैक्षिक कर्जा बापत बढीमा ३५ लाख लोन प्रवाह गर्ने कार्यविधि तय गरी मन्त्रालयमा छलफल भइरहेको पनि बताए।
मन्त्री विष्टले लोन प्रवाहको सो विधि सामाजिक सुरक्षा कोषको अवधारणासँग मेल नखाए पनि विभिन्न निकायले दिएको सुझावको आधारमा सरकारले सो कोषमार्फत् लोन प्रवाह गर्ने सोचलाई अघि बढाएको पनि स्पष्ट पारे।
त्यस अवसरमा मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वीकार गर्दै त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिने पनि बताए।