बैङ्कमा पनि पैसा सुरक्षित छैन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर १२, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाडौं । ‘बैङ्क खातामा नगद जम्मा गर्दैमा रकम सुरक्षित छ’ भन्ने भ्रममा हुनुहुन्छ भने होसियार हुनुहोस्  ! व्यक्तिगत खाता नम्बर र हस्ताक्षर चोरी गरी रकम अर्कैले झिकिदिन पनि सक्ने देखिएको छ ।

आइतबार राति यस्तै घटना भयो । जनता बैंकका ग्राहक गोपालमान राजवाहकको खाताबाट अपरिचित व्यक्तिले करिब १९ लाख रुपियाँ निकालेका छन् ।

आफ्नो खाताबाट रकम झिकिएको म्यासेज पाएपछि बैङ्कमा पुगेका राजवाहाकको समस्याको समाधान भएन । त्यसपछि राति नै प्रहरीको सम्पर्कमा गएका गोपालमानले चेकबुक र एटीएमकार्ड आफूसँंग सुरक्षित हुँदाहुँदै अपरिचितले रकम झिकेको एसएमएस देखाएपछि प्रहरीले शङ्का लागि घटनाको अनुसन्धान सुरु गरेको हो ।

जनता बैङ्कको न्युरोड शाखाबाट तीन पटक गरी उनको खाताबाट १९ लाख रुपियाँ झिकिएको छ । सो रकम झिक्न अभियुक्तहरूले गोपालमानको खाता नम्बर मात्र नभई हस्ताक्षर चोरी र चेकबुक कपी गरेको पाइएको छ ।

यो घटनामा बैङ्कका कर्मचारीको समेत मिलेमतो हुनसक्ने आरोप प्रहरीको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले घटनामा संलग्न छजना अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेहरूमा काभ्रे पाँचखालका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बागलुङ गलकोटका सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरेका गोविन्द घिमिरे छन् ।

यो समूहले खाता नम्बर र हस्ताक्षर चोरी गरी चेक बुक हराएको बहाना बनाई गोपालमानकै नाममा नयाँ चेकबुक बनाई यतिको रकम झिकेका हुन् । अभियुक्तहरूको साथबाट १८ लाख ५० हजार, विभिन्न व्यक्तिको नाममा खोलिएका खाता, खाता नम्बर दार्ता गरिएको रजिस्टर बुक, २९० जनाको नागरिकता प्रतिलिपि, ८२५ जनाको पासपोर्ट साइजका फोटा तथा ९० थान एटीएम कार्ड बरामद भएका छन् ।

अभियुक्त कम्प्युटरसम्बन्धी सामान्य ज्ञान भएका विद्यार्थी हुन् । सिन्धुपाल्चोक ज्यामिरेका अभियुक्त ३० वर्षीय गोविन्द घिमिरे घटनाका योजनाकार रहेको थाहा भएको छ । उनकै निर्देशनमा अभियुक्तहरूले विभिन्न व्यक्तिको नाममा नयाँ खाता खोल्ने र एउटाको खाताको रकम अर्कैको खातामा जम्मा गरी झिक्ने गरेको पाइएको छ । गाेरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस