चीनबाट ठूलो परिमाणमा प्याजको आयात, मुल्य घट्न सक्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर १७, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौं । केही दिनदेखि आकाशिएको प्याजको मूल्य छिट्टै घट्ने कालामाटी फलफूल विकास समितिले दाबी गरेको छ । चीनबाट ठूलो परिमाणमा प्याजको आयात गरिएपछि अब क्रमशः मूल्य घट्दै जाने समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए ।

अहिले नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो २ सय ५० सम्म पुगेको छ । मंगलबार चीनबाट ५२ टन प्याज भित्रिएको श्रेष्ठले बताए । उनका अनुसार अझै ठूलो परिमाणमा चिनियाँ प्याज काठमाडौँ भित्रिने छ ।

‘अहिलेसम्म चीनबाट ५२ मेट्रिक टन प्याज आएको छ। अझै आउने क्रममा छ, अब क्रमशः मुल्य घट्छ’, श्रेष्ठले भने ।

चिनियाँ प्याजलाई थोकमा व्यापारीहरुले प्रतिकेजी एक सय ४० रुपैयाँका दरले बिक्रि गरिरहेका छन्। कालिमाटी बजारका थोक व्यापारी नारायण पाण्डेले चाइनीज प्याजलाई एक सय ४० रुपैयाँका दरले बिक्रि गरिरहेको बताए ।

भारत सरकारले आफ्नो देशमा प्याजको अभाव भएपछि निर्यातमा रोक लगाएका कारण नेपालमा मुल्य आकाशिएको व्यापारीहरु बताउँछन् । नेपालमा दैनिक रुपमा ८० देखि ९० मेट्रिक टन प्याज आयात हुने गरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको ४१ हजार नौ सय मेट्रिक टन प्याज आयात भएको भन्सार विभागले जनाएको छ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा पाँच अर्ब २६ करोड रुपैयाँको एक लाख ७८ हजार मेट्रिक टन प्याज आयात भएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा चार अर्ब ६६ करोड ६६ लाख ४५ हजार रुपैयाँ बराबरको तीन लाख १० हजार एक सय ८७ मेट्रिक टन प्याज आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

त्यसैगरी आर्थिक वर्ष २०७३/०७४ मा तीन अर्ब ९८ करोड ३० लाख ८७ हजार रुपैयाँ बराबरको एक लाख २३ हजार पाँच ६९ मेट्रिक टन प्याज आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागको तथ्यांकमा आर्थिक वर्ष २०७२/०७३ मा तीन अर्ब ५ करोड १८ लाख ९७ हजार रुपैयाँ बराबरको ९५ हजार दुई सय ३१ मेट्रिक टन आयात भएको छ ।

यस्तै विभागको निर्यातको तथ्यांक हेर्दा गत आर्थिक वर्ष २०७५/०७६ मा नेपालबाट एक अर्ब ८९ लाख रुपैयाँ बराबरको ८८ हजार केजी प्याज निर्यात भएको छ। नेपालले कतार, सिंगापुर र भारतमा प्याज निर्यात गर्छ।

नेपालले कतारमा एक लाख ५९ हजार रुपैयाँ बराबरको तीन हजार पाँच सय केजी प्याज निर्यात गरेको छ। यस्तै सिंगारपुरमा नेपालले ३२ हजार रुपैयाँ बराबरको एक सय ४७ केजी निर्यात गरेको छ।

भारतमा नेपालले ७८ लाख ८० हजार रुपैयाँको १३ केजी निर्यात गरेको छ। (देशसञ्चारसँगकाे सहकार्यमा)

ताजा अपडेट

खोजी गर्नुहोस