फागुन २३,काठमाडौँ । सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडले शेयरधनी तथा बचतकर्तालाई नियमित भुक्तानी नगरेपछि बचतकर्ता र शेयर सदस्य आन्दालित भएका छन । शुक्रबार शेयर सदस्यहरुले कम्पनीको मुख्य कार्यालयमा भेला भई उनिहरुले आफ्नो बचत तथा शेयर फिर्ता पाउनुपर्ने बताएका छन । सहकारी संस्थाले भने फागुन २२ गते एक सुचना टाँस गर्दै बचतकर्ता र सहकारी व्यवस्थापनबीच छलफल गर्न बैठक बोलाएको थियो । सोही अनुरुप शुक्रबार तिन चरणमा व्यवस्थापन पक्षले छलफल गरेको छ । यद्यपी छलफलबाट बचतकर्ता सन्तुष्ट भने भएका छैनन् ।
छलफलपछि एक बचतकर्ताले व्यवस्थापनको कुरा चित्त नबुझेको बताए । उनले पाँच लाख बचत भएका सदस्यको मासिक पाँच हजारको दरले बचत फिर्ता दिँदै जाने विषयमा छलफल भएको बताए । अर्का एक सदस्यले भने आफुहरुको बचत अनुसारको ब्याज मात्रै नियमित दिएपनि चित्त बुझाउने बताए । उनले ३ महिनाभित्र सबै बचत तथा ब्याज फिर्ता गर्नुपर्ने बताए । एक बचतकर्ताले प्रश्न गर्दै भने– ‘केही समय अघि सुन्धारामा निर्माणधिन सिभिल हाउजिङ बेचेपछि आएको १ अर्ब ३० करोड खै ? त्यसबाट सहकारीको समस्या समाधान हुन्छ भन्ने मैले आशा गरेको थिए । तर त्यसो भएन । त्यसपछि हामीलाई थप आशंका भयो ।’
सिभिल सहकारीमा झण्डै २७ सय शेयर सदस्य छन । सिभिल सहकारीले सिभिल समूहकै संस्थापकका परियोजनामा कुल कर्जाको ८६ प्रतिशतभन्दा बढी लगानी गरेको छ। आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदनअनुसार आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङको रियल स्टेट व्यवसायमा सबै रकम लगानी गरिएको छ। सहकारी ऐन २०७४ अनुसार कुनै पनि सहकारीले कुल पुँजीकोषको १० प्रतिशतभन्दा बढी कर्जा एकै व्यक्तिलाई दिन मिल्दैन। संस्थाको लेखा परीक्षण प्रतिवेदनले पनि यसलाई जोखिमका रूपमा औंल्याएको छ। सिभिल होम्सले लामो समयदेखि सहकारीको सावाँ र ब्याज तिर्न नसक्दा निक्षेपकर्ता मारमा छन्। सिभिल सहकारी सिभिल ग्रुपले प्रवद्र्धन गरेको हो। संस्थाले आफ्नै स्वामित्वका तीनवटा व्यवसायलाई अन्धाधुन्ध कर्जा प्रवाह गर्दा सहकारीको सात अर्ब रुपैयाँभन्दा बढी डुब्ने खतरा बढेको एक सेयर सदस्य बताउँछन्। यस विषयमा अनलाईनकेन्द्रले थप जानकारी लिन खोज्दा व्यवस्थापन पक्षसंग सम्पर्क हुन सकेन ।