मंसिर ७,काठमाडौँ । करदाता सेवा कार्यालय गल्छीले १२ औं कर दिवस तथा कर सप्ताहको अवसरमा करदाता सम्मान र कर्मचारी पुरस्कृत गरेको छ ।
विहिबार करदाता सेवा कार्यालय गल्छीमा सम्पन्न कार्यक्रममा उद्योग,व्यापार,बैक तथा वितिय संस्था र शैक्षिक संस्था क्षेत्रका एक/एक गरी आर्थिक वर्ष २०७९/०८०मा सबैभन्दा बढी आयकर दाखिला गर्ने ८ जना करदातालाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा धुनिवेशी नगरपालिकाका नगर प्रमुख तथा बि.के इन्टरप्राइजेज धुनिवेशी ६ धार्के धादिङका प्रोपाइटर बालकृष्ण आचार्य , हाम्रो अक्सिजन प्रा.लि.नुवाकोट, आर.आर फर्म प्रा.लि सिद्धलेक धादिङ, स्पीड अट्रो इन्टरप्राइजेज नुवाकोट, दुई पिपल महिला साना किसान कृषि सहकारी संस्था लि.नुवाकोट,भैरवी बचत तथा ऋण सहकारी संस्था लि. धादिङ,अर्किड एकेडेमी नुवाकोट र चिल्डेन पार्क बोडिङ स्कुल धादिङलाई १२ औं कर दिवस–२०८० को अवसरमा उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो। बि.के इन्टरप्राइजेजका प्रोपाइटर आचार्य गतबर्ष पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका थिए । लगातार उनि यसपटक पनि सबैभन्दा बढि कर तिर्ने करदाताको रुपमा सम्मानित भएका हुन् ।
सो अवसरमा कार्यालयमा कार्यरत कर्मचारी पुरुषोत्तम खतिवडालाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको छ । छनौट गरिएका व्यवसायी र कर्मचारीलाई गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले सम्मान–पत्र एवम् प्रशंसा पत्र प्रदान गरेका थिए ।
करदाता सेवा कार्यालय गल्छीका अधिकृत शिखा बाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य,गल्छीका उपाध्यक्ष भाईकाजी तिवारी,जिसस धादिङका उपप्रमुख कुलमान विक, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलिया, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत करदाताहरुको उपस्थिति रहेको थियो।
सरकारले वि.सं. २०६९ साल देखि प्रत्येक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस र मङ्सिर १ देखि ७ गतेसम्म कर सप्ताह मनाउँदै आएको छ । यो वर्ष पनि आन्तरिक राजस्व विभाग र अन्तर्गतका देशभरका कार्यालयहरुमा ″स्वच्छ पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय,आर्थिक समृद्धी र सुशासन‶भन्ने मुल नाराका साथ विवध कार्यक्रम गरी कर दिवस मनाइएको छ ।