फागुन १७,काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) ले गरिबी घटाउनेतर्फ नेपालले प्रगति गरिरहेको भन्दै प्रशंसा गरेको छ । नेपाल भ्रमणमा रहेका एडीबीका प्रमुख अर्थशास्त्री तथा आर्थिक अनुसन्धान एवम् विकास प्रभाव विभाग महानिर्देशक अल्बर्ट पार्कले नेपालले पछिल्ला दुई दशकमा प्रशंसनीय हिसाबले गरिबी निवारण गरेको बताएका हुन् ।
चार दिने नेपाल भ्रमणमा आएका पार्कले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग भेटेर गरिबी न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि दिगो तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने दिशामा रहेका चुनौती पनि औंल्याएका छन् । नेपाल रेमिट्यान्समा आधारित अर्थतन्त्रबाट उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित अर्थतन्त्रतर्फ लाग्नुपर्नेमा उनको सुझाव छ ।
महानिर्देशक पार्कले व्यापार, आप्रवासन तथा आर्थिक नीतिहरूमा अमेरिकाका सम्भावित परिवर्तनको असर यो वर्षको अन्तिम महिनामा देखिने बताए । यस्तै यो वर्ष दक्षिण एशिया विश्वको सबैभन्दा तीव्र आर्थिक वृद्धि भएको क्षेत्र बन्ने प्रक्षेपण रहेको पनि उनको भनाइ छ ।