कार्तिक १४,काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले नेपालले कठिन समयमा पनि आफ्नो मुलुकलाई साथ दिँदै आएको बताएका छन ।
बुधबार काठमाडौंमा आयोजित ‘जम्मु–कश्मीर विवाद र मानव अधिकार उल्लंघनका घटनामा वृद्धि’ विषयक प्रवचन कार्यक्रममा बोल्दै राजदूत जावेदले नेपालले कठिन समयमा साथ दिँदै आएको बताएका हुन ।
त्यस अवसरमा उनले दुई मुलुकबीचको सम्बन्ध सरकारी स्तरमा मात्र नभई जनस्तरमा पनि सुदृढ रहेको विश्वास पनि व्यक्त गरे ।
राजदूत जावेदले नेपाल–पाकिस्तानबीच एक अर्काको आन्तरिक मामलामा अहस्तपेक्षको नीति रहेको पनि स्मरण गराए । उनले जम्मु–कश्मीर समस्या समाधानका लागि संयुक्त राष्ट्र संघको प्रस्ताव अनुसार जनमत संग्रहमा जानुपर्ने आफ्नो राष्ट्रको अडान रहेको पनि स्पष्ट पारे ।
जम्मु–कश्मीरको स्वामित्वको विषयलाई लिएर पाकिस्तान र भारतबीच लडाई हुँदा हजारौंले ज्यान गुमाउनु परेको छ । त्यही विषयलाई लिएर पाकिस्तान–भारतबीचको सम्बन्ध पनि तनावपूर्ण रहँदै आएको छ ।