कात्तिक १८, काठमाडौं । दक्षिणपन्थी विचारधारा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीनै समूहका नेताहरुले फेरि पार्टी एकताका लागि आन्तरिक छलफल सुरु गरेका छन् ।
पटक–पटक विभाजन हुने र जुट्ने काममा ‘रेकर्ड’ बनाएको राप्रपाका विभिन्न समूहबीच एकताका लागि यसपटक दोस्रो तहका नेताहरु सक्रिय देखिएका छन् ।
प्रजातन्त्रको पुनःस्थापनापछि राष्ट्रवादी नारामा स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले तीन समूहमा विभाजित छ ।
तीन समूहमध्ये राप्रपाको नेतृत्व कमल थापा, राप्रपा प्रजातान्त्रिकको नेतृत्व पशुपतिशमशेर जबरा र राप्रपा राष्ट्रवादीको नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले गरिरहेका छन् ।
राप्रपा सैद्धान्तिक विमतिले नभइ नेताहरुको व्यक्तिगत स्वार्थका कारण पटक–पटक टुट्दै र जुट्दै आएको हो ।
पछिल्लोपटक राप्रपाले २०७३ सालमा एकता महाधिवेशन गरेको थियो । एकता महाधिवेशनलगत्तै पार्टी तीन चिरामा विभाजित भयो ।
अघिल्लो वर्ष सम्पन्न तीनओटै निर्वाचनमा विभाजनका कारण राप्रपा अस्तित्व नै समाप्त हुनेगरी पराजित भयो ।
सर्मनाक पराजितको स्वाद चाखेको एक वर्षपछि अहिले तीनै समूह एकताका लागि सक्रिय भएका छन् ।
राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजाराम श्रेष्ठले अब नफुट्ने गरी एकताका लागि छलफल भइरहेको दाबी गरे ।
पार्टी एकताका लागि नेताहरुबीच विभिन्न विकल्पमा छलफल भइरहेको बताइएको छ ।