यसकारण लम्बियो नेकपाको एकता प्रक्रिया !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र ४, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत ४, काठमाडौँ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकताको प्रस्ताव तयार पार्न सघन छलफल गरे पनि एकता प्रक्रिया केही समय लम्बिने भएको छ।

अध्यक्ष दाहाल अमेरिकातर्फ लागेपछि एकताले औपचारिकता पाउन समय लाग्ने भएको हो ।

केन्द्रमा एकता भएको नौ महिनासम्म तल्ला तहको एकीकरण हुन सकेको छैन । पार्टी एकताको बाँकी काम पूरा गर्न ढिलाइ भइरहेको भन्दै अध्यक्ष दाहालले आफू फर्केपछि टुंग्याउने जानकारी दिए।

श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका उड्नुअघि दाहालले एकता र अन्य राजनीतिक विषय टुंग्याउन अझै घनिभूत छलफल आवश्यक रहेको बताए । १० दिनभित्र फर्किने जानकारी उनले दिए ।

पार्टी एकताका लागि प्रस्ताव तयार गर्ने कार्यदलले काम गर्न नसकेपछि सचिवालयले एकता टुंग्याउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो । त्यही जिम्मेवारीअनुसार गत साता अध्यक्षद्वयले पटक–पटक छलफल गरेका थिए ।

जिल्ला तहको नेतृत्व टुंग्याउने गरी प्रत्येक जिल्लाकेन्द्रित छलफल भएको थियो । जिल्लाका अध्यक्ष र सचिवहरूको नाम पहिले टुंग्याउने र सदस्यहरू तय गर्ने विधि अध्यक्षद्वयले अपनाएका छन् । त्यसअनुसार प्रत्येक जिल्ला नेतृत्वको सूची बनाएर छलफल चलिरहेको छ । प्रारम्भिक केही प्रस्ताव तयार पनि भएको छ । अध्यक्ष फर्केपछि मात्र त्यसलाई थप परिस्कृत गरी सचिवालय र स्थायी समितिमा लैजाने तयारी छ ।

‘अध्यक्षहरूले केही गृहकार्य गर्नुभएको छ तर एक जना अध्यक्ष बाहिर जानुभएकाले उहाँ नफर्किंदासम्म बाँकी काम अघि बढदैन,’ कार्यालय सचिवको भूमिका निर्वाह गरिरहेका नेता कृष्णगोपाल श्रेष्ठले भने। नेकपाको एकीकरण पूरा नहुँदा तल्लो तहका गतिविधि शून्य छन् । केन्द्रीय नेताहरू कामविहीन अवस्थामा छन्।

पूर्वएमाले र पूर्वमाओवादीको कमिटीले तदर्थ शैलीमा काम गरिरहेका छन्। एकीकृत पार्टीको पहिचानसहित तल्लो तहसम्म कुनै गतिविधि भएको छैन।

केन्द्रीय समिति बनेको छ तर एउटा औपचारिकबाहेक बैठक बस्न सकेको छैन । केन्द्रीय नेताहरूको कामको जिम्मेवारी पनि बाँडफाँट गरिएको छैन । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिए पनि सबै प्रदेश कमिटीले पूर्णता पाइसकेका छैनन्।

गत जेठमा एकता हुँदै गर्दा तीन महिनाभित्र एकीकरण सक्ने भनिएको थियो । एकताका लागि प्रस्ताव तयार गर्न भन्दै सुरुमा तल्लो कमिटीबाट नाम सिफारिस गर्ने, त्यो सिफारिसका आधारमा माथिबाट कमिटीहरूको टुंगो गर्ने विधि तय गरिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस