असोज २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि पाँच दिने म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् ।
राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन मिन्टको मैत्रिपूर्ण निमन्त्रणामा त्यसतर्फ जान लागेकी हुन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी विन्टसँग आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्ने छिन् ।
पाँच दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नोबेल शान्ति पुरस्कार विजेतासमेत रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
यस्तै म्यानमारको पायन यु लायनमा नेपालीभाषी नागरिकहरुसँग भेट गर्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले पाँच दिने बसाइका क्रममा यांगुनको ऐतिहासिक स्थानको भ्रमणसमेत गर्ने मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिवलगायत उच्च पदस्थ अधिकारी पनि भ्रमण दलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।