फाल्गुण २३, काठमाण्डौ । प्रतिनिधिसभाको बैठकमा आज कोरोना भाइरसविरुद्ध राष्ट्रिय संकल्पका साथ एकजुट भएर अघि बढ्नुपर्ने विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुने भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेपछि यससँग जुध्न सरकारले के गरेको छ ? अस्पतालको अवस्था के छ ? भन्ने जस्ता प्रश्नमा सरकारले सदनलाई जानकारी दिनुपर्ने माग गरिएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले यस विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।
प्रस्तावको पक्षमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणी राजभण्डारी, राजेन्द्रकुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गर्नेछन् । बैठकमा आज कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउने विषयमा संकल्प प्रस्ताव पनि पेश हुनेछ । सत्तारुढ नेकपाकै सांसद खगराज अधिकारीले पेश गर्ने प्रस्तावमा नेकपाकै सांसद रामकुमारी झाँक्रीले समर्थन गर्नेछिन । भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि बसेको सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी सरकारलाई निर्देशन गरेकाले कुटनीति र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न प्रस्ताव दर्ता गरिएको हो ।