फाल्गुण २३, काठमाण्डौ । बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली उठेर बस्न थालेका छन् । बिहीबार बिहानदेखि झोल पदार्थ खान थालेका प्रधानमन्त्री ओली शुक्रबार बिहानदेखि त्रिवि शिक्षण अस्पतालको आईसीयुमा उठेर बस्न थालेका हुन् । बुधबार अप्रेशन कक्षबाट पोस्ट अपरेटिभ वार्डको आईसीयुमा सारिएका प्रधानमन्त्री उठेर बस्न थालेपछि आजेदेखि फिजियोथेरापी पनि गराउन थालिने उनको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्रीलाई यसअघि पटक पटक छातीको संक्रमणले सताएको थियो । यो पटक उक्त संक्रमण दोहोरिन नदिन चिकित्सकले विशेष सजगता अपनाएका छन् । सीमित चिकित्सक मात्रै ओलीको नजिकमा छन् । अहिलेसम्म बाहिरका आगन्तुकलाई चिकित्सकले भेट्न दिएका छैनन् । ओलीलाई मिर्गौला दान गरेकी ३२ वर्षीया भाञ्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्यमा सुधार भएसँगै उनलाई केही दिनमै डिस्चार्ज दिने तयारी चिकित्सकहरुले गरेका छन् ।