अध्यादेश प्रकरणले शीर्ष तहमै टकराव र ध्रुवीकरण बढेपछि नेकपाका प्रमुख तीन नेता छलफल र परामर्शमा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आइतबारबाट बेग्ला बेग्लै परामर्शमा सक्रिय भएका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन् । तीनजनै शीर्ष नेताहरुले भावी कदम र अबका रणनीतिमा केन्द्रीत रहेर समूहका नेताहरुसँग परामर्श लिएका हुन् । आइतबार साँझसम्म शीर्ष नेताहरुबीच ठोस समझदारी बनेको छैन । प्रधानमन्त्री ओलीले आइतबार बिहानैदेखि साँझसम्म निकट नेता, मन्त्रीहरु तथा कानुनविदहरुसँग परामर्श गरेका छन् । प्रचण्डले निजी निवास खुमलटारमा स्थायी समिति सदस्य जनार्दशन शर्मा र वर्षमान पुनलगायतसँग परामर्श गरेका छन् । प्रचण्डले प्रधानमन्त्री बैठक छल्ने प्रयासमै रहे पनि दबाबपछि सोमबार बुलुकीसम्म सचिवालय बैठक बस्ने सम्भावना रहेको र त्यहाँबाट स्थायी समिति बैठकको मिति तय हुन सक्ने आफू निकट नेताहरुलाई जानकारी गराएका छन् ।
उता बरिष्ठ नेता माधव नेपालले भने स्थायी समितिका निकट नेताहरुसँग कोटेश्वरमा छुट्टै परामर्श गरेका छन् ।
परामर्शमा नेताहरु सुरेन्द्र पाण्डे, भीमबहादुर रावल, योगेश भट्टराई, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र रघुजी पन्तलगायतका नेता सहभागी थिए ।