सक्रिय हुँदै राष्ट्रिय सभाका समिति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १५, सोमबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

वैशाख १५, काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा अन्तर्गतका समिति बन्दाबन्दीको समयमा पनि सक्रिय हुन थालेका छन् । कोरोना भाइरस कोभिड–१९ को नियन्त्रणका लागि बन्दाबन्दी लागू भएपछि निष्क्रिय बनेका संसदीय समिति शुक्रबार औपचारिक बैठक बसेका थिए । आइतबारका लागि पनि बैठक तय छ ।
समसामयिक विषयमा केन्द्रित हुँदै शुक्रबार मात्रै तीनवटा समिति कक्षमै उपस्थित भएर सामाजिक दूूरी कायम गर्दै बैठक बसेका थिए । बन्दाबन्दीपछि शुक्रबार पहिलोपटक तीनवटा समितिका त्यसरी नै बैठक बसेका हुन् । राष्ट्रिय सभा अन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बसेको थियो ।

विधायन व्यवस्थापन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबार बैठक बस्दैछ । यसअघि भर्चुअल बैठक बसे पनि शुक्रबार भने औपचारिक रूपमै बैठक बसेका थिए । राष्ट्रिय सभा अन्तर्गतका समितिमा सदस्य सङ्ख्या न्यून भएका कारण पनि सामाजिक दूरी कायम गरेर बैठक बस्न सहज भएको हो ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले राष्ट्रिय सभा अन्तर्गतका समितिमा प्रतिनिधि सभाको भन्दा सङ्ख्या कम भएकाले सामाजिक दूूरी कायम गरेर बस्न सकिने अवस्था भएको बताए । बैठक बस्नुअघि ज्वरो नाप्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गरिएको जानकारी दिँदै उनले पूर्णतः सावधानी अपनाइएको छ भने ।
अहिलेको अवस्थामा नागरिकको समस्या सम्बोधन गर्न, कोरोना विरुद्धको राष्ट्रिय अभियान सम्बोधनका सन्दर्भमा संसदीय छलफल आवश्यक भए पनि भर्चुअल रूपमा गर्न सकिने अवस्था छ । संसदीय समितिका बैठकलाई कसरी भर्चुअल रूपमा अगाडि बढाउन सकिन्छ भनेर संसद् सचिवालयले अध्ययन गरी प्रतिवेदनसमेत बुझाइसकेको छ । धमलाले भर्चुअल बैठकको तयारीको काममा सचिवालय जुटिरहेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस