जेठ १, काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण सिर्जना भएको समस्या र अन्य आर्थिक क्रियाकलापलाई पनि प्राथमिकतामा राखेर आगामी वर्षको बजेट तर्जुमा हुने बताएका छन् । प्रतिनिधिसभामा प्रिबजेट छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले संविधानद्वारा निर्देशित सिद्धान्तकै आधारमा बजेट ल्याइने स्पष्ट पारे । उनले आर्थिक क्षेत्रलाई चलयामान बनाउने गरी बजेट ल्याउने प्रतिवद्धता पनि सदनमा व्यक्त गरे । जवाफका क्रममा मन्त्री खतिवडाले भने , ‘‘रोग र भोकसँग लडेका नागरिकलाई सम्बोधन गर्न केही आर्थिक क्षेत्रलाई चलयमान गराउनु पर्छ । हेर्दा परम्परागत भनिए पनि रोजगारीको क्षेत्रमा रकम नबढाए हामी माग सम्बोधन गर्न सक्दैनौँ । यी आर्थिक क्रियाकलाप अहिले किन आए, कोरोनाबाहेक अन्य कुरा किन ? भन्ने कुरा अतिशयोक्ति हुन्छ । न्यूनतम आर्थिक क्रियाकलाप सुचारु राखेनौँ भने रोगबाट बचिएला तर भोकबाट अघि बढ्न सकिन्न ।’’
उहाँले सांसदहरुका सुझावलाई सकेसम्म बजेटमा समेट्ने बताए । वैदेशिक रोजगारीमा रहेका सबैलाई तत्काल फर्काउने कुरामा थप छलफलको आवश्यकता पर्ने उनको भनाई छ । भावना एक ठाउँमा हुने भए पनि कठिनाइलाई सँगै राखेर हेर्नुपर्ने उनको भनाई छ । जीवन रक्षाको कुरा गरिरहँदा आवातजावात र सीमा व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री खतिवडाको भनाई छ । विदेशमा रहेका नागरिकलाई भौकै बस्न नपर्ने गरि परराष्ट्र मन्त्रालय क्रियाशील रहेको उनको भनाई छ । हाललाई धेरै आवातजावातको पक्षमा सरकार नरहेको उनले स्पष्ट पारे ।