जेठ ७, काठमाण्डौ । मन्त्रिपरिषद्बाट लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा नापी विभागका पूर्वमहानिर्देशकहरुसँग मन्त्रालयमा भएको छलफलमा यसको तयारी भइरहेको बताए ।
छलफलमा नेपालले आफ्नो तर्फबाट नक्सा सार्वजनिक गरिसकेपछि छिमेकी मुलुक भारतसँग वार्तामा बस्दा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा कुरा भएको थियो । उनले मन्त्रालयले नक्सा बनाएकाले अब जमीन फिर्ता ल्याउन बाँकी रहेको बताए । मन्त्री अर्यालले सरोकारवाला विज्ञ र राज्यपक्ष दुवै एकै आवाजका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेपालका तर्फबाट सबै सहयोगी दस्तावेजहरु सङ्कलन गर्नुपर्ने र गलत दस्तावेजलाई हटाउनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् । हाम्रो सिमाना यो हो भनेर एथेष्ट प्रमाणहरु सङ्कलन गरेर भारतसँग वार्ता गर्नुपर्ने उनीहरुको भनाइ छ ।
लिम्पियाधुराको सिमानामा भर्खरै सरकारले सशस्त्र प्रहरी पोष्ट स्थापना गरे पनि त्यति मात्रले नपुग्ने र सिमानामा नेपाली सेनाको नै उपस्थिति गराइनुपर्ने बताइएको थियो । प्राविधिक रुपमा बलियो भएर नेपालका तर्फबाट वार्तामा जानुपर्ने विज्ञहरुले सुझाव दिएका थिए ।