असार १९, मकवानपुर । वाग्मती प्रदेशको सत्तारुढ नेकपा संसदीय दलको बैठकमा विवाद हुँदा पछिल्लो समय दैनिकजसो प्रदेशसभाको बैठक प्रभावित भइरहेको छ । प्रदेशको राजधानी हेटौंडामा जारी सत्तारुढ नेकपा संसदीय दलको बैठकमा विवाद भएपछि तीनदिनदेखि प्रदेशसभा बैठक प्रभावित भइरहेको छ ।
नेकपा संसदीय दलको बैठकमा बजेटको बाँडफाँडको विषयलाई लिएर विवाद हुँदा बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर ५ बजेका लागि पुनः डाकिएको थियो । यसैगरी, मंगलबार र बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले सूचना टाँसेर ३ बजेका लागि पुनः बोलाएको थियो ।
नेकपाभित्र बजेटको विषयमा विवाद बढिरहँदा दैनिकजसो सूचना टाँसेर बैठक स्थगित गर्न संसद सचिवालय बाध्य भइरहेको छ । ‘नेकपा संसदीय दलको बैठकका कारण लगातार प्रदेशसभा प्रभावित भइरहेको छ,’ प्रदेशसभा सचिवालय स्रोतका अनुसार पछिल्लो समयमा नेकपाको संसदीय दलको बैठक अनुसार प्रदेशसभाको समय मिलाउन सचिवालय बाध्य भइरहेको छ ।