असोज २८, काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको दाबी गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले ‘लकडाउन’पछि खुलेको बजारमा कुनैपनि खाद्यान्न लगायत दैनिकरुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दाबी गरे । तर, विश्व बजारमा नै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक दुईओटा वस्तुमा मूल्यवृद्धि हुनु स्वाभाविक भएको मन्त्री भट्टको भनाइ थियो ।
बजार आफ्नो गतिमा गएको बताउँदै उनले भने ‘कहीँपनि समस्या आएको छैन ।’ अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यानकेन्द्रित भएको पनि उनले भने । निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले भने । उद्योगमन्त्री भट्टले आफूले मन्त्रालय सम्हालेदेखि व्यवसायमैत्री वातावरण बन्दै गएको दाबीसमेत गरे ।