मंसिर १७, काठमाण्डौ । नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग ‘भनाभन’ नै भएपछि बुधबारको बैठकमा नआउने बताएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफूनिकट नेताहरुसँग छलफल गरिरहेका छन् । नेपाल कम्युन्ष्टि पार्टी नेकपाको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । आज दिउँसो पुनः बैठक बस्ने गरी मंगलबार स्थगित भएको थियो ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच हिजो बैठकमा आरोप–प्रत्यारोप भएपछि ओलीले बुधवारको बैठकमा उपस्थित नहुने बताएका थिए । ओली उपस्थित नभए पनि आजको बैठक अघि बढाउने दाहाल पक्षको तयारी छ । नेकपामा पछिल्लो समय चर्किएको शक्ति संघर्ष दुई अध्यक्षबीच बैठकमा बाहेक बोली बाराबारको अवस्थामा छ । अध्यक्षद्वय ओली र दाहालबीचको विवाद लिखित रुपमै आरोप प्रत्यारोपको उच्चतम तहमा पुगेको छ । एकले अर्कोलाई पार्टी विभाजन गर्न खोजेको लिखित आरोप लगाएपछि परिस्थिति थप गम्भीर बनेको हो ।