मंसिर १८,काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका नेता रामचन्द्र पौडेल झण्डै तीन घण्टापछि रिहा भएका हुन् । पौडेलसहित उनीसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।
व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । पुल उद्घाटनका विषयमा नेपाली कांग्रेस र नेकपा निकट युवा सङ्घबीच विवाद भएपछि प्रहरीले दिउँसो त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटनका लागि गएका पौडेलसहितका नेतालाई प्रहरीले पक्राउ गरेको हो । रिहापछि काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकोमा आपत्ति जनाए । उनले भने उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ । प्रहरी शक्तिको दुरुपयोग गरी काङ्ग्रेसलाई निषेध गर्न खोजिएको भनी उनले आपत्ति नजाए ।