मंसिर १८, काठमाण्डौ । भारतीय विदेश मन्त्री एस जयशंकरले नेपाल र भारतले आपसी समस्याहरूलाई सुल्झाएर अघि बढ्ने निर्णय भएको बताएका छन् । भारतीय समाचार पत्र द हिन्दुलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले संसारमा समस्यारहित कुनै छिमेकी नभएको उल्लेख गर्दै त्यसलाई कसरी हल गरेर अघि बढ्ने भन्ने कुरा महत्वपूर्ण भएको बताए ।
भारतको विरोधका वाबजुद् नेपालले संविधान घोषणा गरेको र गत वर्ष लिपुलेक, लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको प्रसंग उल्लेख गर्दै उनले नेपाल आफ्नो अडानबाट पछि नहटे पनि पछिल्लो समय भारतीय अधिकारीहरूले लगातार काठमाडौं भ्रमण गरेको कुरालाई कसरी हेर्ने भनेर प्रश्न गरिएको थियो । जवाफमा विदेश मन्त्री जयशंकरले कुनै एउटा घटनालाई मूल्यांकनको आधार बनाउनु नहुने बताएका थिए ।