संसद विघटनसम्बन्धी मुद्दा आज पनि सुनुवाइ हुने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ५, सोमबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ ५, काठमाण्डौ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हिजो पनि हेर्दाहेर्दैमा सकियो । आइतबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकीलहरुले बहस गर्ने क्रम जारी रहेकाले लगातार सुनुवाइ हुनेगरी हेर्दाहेर्दैमा राखिएको छ । आईतवार रिट निवेदनकर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए ।

बहसका क्रममा पोखरेलले प्रचण्ड र माधव नेपालले असहयोग गरेकै कारण विघटनको अधिकारी प्रधानमन्त्रीमा नरहेको जिकिर गरे । उनले संसदले विश्वासको मत दिएन भने मात्रै संसद विघटन गर्न सकिने भन्दै त्यसका लागि १४८ दिनसम्म प्रक्रियमा जान समय लाग्ने तर्क गरे । यस्तै आचार्यले पनि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नै नसक्ने तर्क गरे ।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ । उक्त निवेदनमा राष्ट्रपति कार्यालयलाई लिखित जवाफ माग गरिएको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गरेका थिए । आईतवार हेर्दाहेर्दैमा राखिएकोमा आज फेरी रिट माथी बहस हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस