माघ २८ काठमाडौं । काठमाडौं माघ २८–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) ले आज काठमाडौंमा आयोजना गरेको विरोधसभामा ओलीको दमनको विरुद्धमा मधेशी जनता काठमाडौंमा उर्लिएका छन् ।
यसअघि पनि नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विरोधसभा गरेको थियो तर मधेशमा यतिको मान्छे आएका थिएनन् । प्रदेश २ का नेकपा (प्रचण्ड–माधव समूह) का सह–इन्चार्ज महेन्द्र पासवानले भने, ‘मधेशमा ओलीको दमनको विरुद्धमा जनता काठमाडौं आएका छन् ।’
माघ २२ गते नेकपा (प्रचण्ड–माधव समूह) ले आयोजना गरेको आमहडतालमा मधेशमा प्रहरीले दमन गरेको थियो । आमहड्तालको दिन पुरै देशमा कतै दमन नभएको तर प्रदेश २ मा ठाउँठाउँमा प्रहरीले दमन गरेको र दर्जनौ नेता तथा कार्यकर्तालाई घाइते बनाए, उनले जिकिर गरे ।
संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको मधेशप्रति सोच अझै परिवर्तन नभएको कुरा आमहड्तालमा देखिएको र त्यसको विरोधमा मधेशी जनता काठमाडौं ओर्लिएको उनले बताए ।
नेकपा (प्रचण्ड–माधव समूह) केन्द्रीय सदस्य धर्मनाथ साहले संघीयता बचाउनका लागि काठमाडौं आएको बताए । उनले भने,‘मधेशी जनताले रगत बगाएर ल्याएको संघीयता मास्न केपी शर्मा ओलीले कदम चाल्नु भएको छ । त्यसलाई बचाउन मधेशी जनता आफै काठमाडौं आएका छन् ।’
अधिकांश मधेशी जनता भाडामा आएका छन् भनि आरोप छ नि भनि जिज्ञासामा उनले यस्तो सोच्नेलाई ओली मनोवृति भन्ने गरेको प्रतिकृया दिए । ‘ओलीले जसरी मधेशीलाई हेप्ने काम गरे, अहिले यी भाडाका मधेशी जनता हुन् भन्नु उस्तै उस्तै रहेको’ उनले दावी गरे । यहाँ काठमाडौं आएका सबै कम्युनिस्ट पार्टीलाई भोट दिने मतदाता तथा कार्यकर्ता रहेको उनले दावी गरे ।
नेकपा (प्रचण्ड–माधव समूह) का नेता उमेश यादवले काठमाडौंका नेवार र तराईका मधेशी नजागेसम्म देशमा कुनै परिवर्तन नभएको इतिहास रहेको आज पुनः त्यही इतिहास दोहोरिन थालेको दावी गरे । ‘मधेशी जनता आफ्ना अधिकारका लागि काठमाडौं आएका हुन्, ओलीको प्रतिगमनको विरोध गर्न काठमाडौं आएका हुन्,’ उनले दावी गरे ।