चैत्र २४, काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहितको १० सदस्यीय जम्बो प्रतिनिधिमण्डल सोमबार राती स्पेन हिँडेको छ । चैत २४ गतेदेखि स्पेनको कोथेरस शहरमा हुने ‘पीस कन्फरेन्स अफ लुम्विनी गार्डेन प्रोजेक्ट’ को उद्घाटन कार्यक्रममा भाग लिन अध्यक्ष तिमल्सिनासहितको टोली त्यसतर्फ लागेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जनाएका छन् ।
अध्यक्ष तिमिल्सिना उक्त कार्यक्रमका प्रमुख अतिथिका रुपमा सहभागी हुँदैछन् । अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डलमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी र प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रेग्मी, रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंह, देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ रहेका छन् । त्यस्तै संघीय संसद सचिवालयका शाखा अधिकृत सपना सापकोटा र लुम्बिनी गार्डेन प्रोजेक्ट स्पेनका प्रमुख आर्किटेक्ट उज्जवलमान शाक्य समेत सहभागी छन् ।