जेठ १०, काठमाडौ । नेकपा एमालेको बागमती प्रदेशका १४ जना सांसदले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई हराउन भूमिका खेलेको भन्दै एमालेको बागमती प्रदेश संसदीय बोर्डले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो ।
बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण सोेधेकोे थियो ।
स्पष्टीकरण सोधिएकाहरुमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे, अरुण नेपाल, वसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद खनाल, शान्ति प्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, मीना ज्ञवाली, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, कुसुम कार्की र पार्वती सिलवाल छन् ।