जेठ १६, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष आव २०७८।७९ का लागि तोकिएको बजेट सिलिङभन्दा रू १५ अर्ब बढी बजेट पाएको छ । यससँगै मन्त्रालयको बजेट आकार पनि बढेको छ । मन्त्रालयले १ खर्ब ४८ अर्बको बजेट सिलिङ पाएको थियो ।
तर, आगामी आवको कुल बजेट भने १ खर्ब ६३ अर्ब ३७ करोड रहेको छ । यद्यपि यो चालू आर्थिक वर्षको भन्दा २५ अर्ब बढी हो । चालू आर्थिक वर्ष २०७७।७८ मा मन्त्रालयका लागि १ खर्ब ३८ अर्ब बजेट विनियोजन गरिएको थियो । संघीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट वक्तव्य शनिवार सावर्ज निक गर्दै मन्त्रालयले उक्त बजेट पाएको जानकारी दिएका हुन् ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र८९ का लागि राष्ट्रिय योजना आयोगले दिएको १६ खर्बको सीमाभन्दा केही बढी अर्थात् १६ खर्ब ४७ अर्बको बजेट सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत ल्याइएको आगामी आवको बजेट सबैलाई रिझाउने खालको रहेको छ । यद्यपि आगामी निर्वाचनलाई लक्षित गरी लोकरिझ्याइँका ठूला कार्यक्रम भने यसमा परेका छैनन् । कोरोना महामारीलाई सम्बोधन गर्ने गरी बजेट ल्याइएकाले धेरैजसोले सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् तर बजेट कार्यान्वयन सबल बनाउने खालका विशेष कार्यक्रम भने यसमा परेको देखिँदैन ।