असार २, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार विनियोजन गरेको छ । प्रदेशसभामा आज आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले ५७ अबृ रुपैयाँ भन्दा धेरै रकमको बजेट ल्याउनु भएको हो । कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार बजेट छुट्याइएको छ ।
यसमा पुँजिगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरिएको मन्त्री ढुंगेलले वताउनुभयो । कुल विनियोजनमा चालु तर्फ ४५ प्रतिशत, पुँजिगत तर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत रहेको वताए ।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएका खर्च व्यहोर्ने श्रोतमध्ये कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार रुपैयाँ, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानमा प्राप्तख हुने १६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ, विविध प्राप्ती १ अर्ब ५ करोड ९ लाख ९६ हजार र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्तर हुने अनुमान गरिएको मन्त्री ढुंगेलले वताए ।
आगामी आर्थिक वर्षको राजस्व नीति तथा करका दरहरु निर्धारण गर्दा कोभिड–१९ महामारीले मानव जीवनमा पारेको प्रभाव र यसको रोकथाम र नियन्त्रणको प्रयासबाट आर्थिक क्षेत्रमा पारेको संकटलाई मध्यनजर गरी करदाता तथा सेवाग्राहीलाई राहत एवम् सहुलियत सहित आर्थिक पुनरुत्थानलाई उच्च प्राथमिकता दिएको उनले बताए । कोभिड–१९ महामारी, रोकथाम र नियन्त्रण प्रयासको कारण प्रभावित क्षेत्रको करका दरमा समायोजन, छुट लगायतका सहुलियत प्रदान गरिने बताए ।