कार्तिक १९, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै सम्पन्न हुने बताएका छन् । काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले महाधिवेशन हुँदैन भन्नेहरूका कुरा नपत्याउन आग्रह गरे ।
‘जसले जे भनेपनि नपत्याउनुस् । अधिवेशन समयमा हुन्छ, हुन्छ । अब महाधिवेशन पार्टी सभापतिको हातमा छैन । निर्वाचन समितिको हातमा छ । मैले चाहेर पनि हुँदैन । त्यसकारण उहाँहरु महाधिवेशन गर्न प्रतिबद्ध हुनुहुन्छ,’ देउवाले भने ।
काँग्रेसको १४ औं महाधिवेशन मंसिर २४-२६ मा सम्पन्न निर्वाचन समितिको तयारी छ । मंसिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्वाचन समितिलाई निर्देशन दिएको देउवाले बताए ।
यस्तै देउवाले जिल्ला अधिवेशनबाट भक्तपुरमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पनि सुझाव दिए । सकेसम्म सर्वसम्मतिबाटै सभापति बनाउने हुँदै नभए स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउन देउवाको सुझाव छ ।
प्रतिस्पर्धा गर्दा जित र हार हुने भन्दै दुस्मनी बढाउन नहुने देउवाको भनाइ छ । उनले भने, ‘प्रतिस्पर्धामा जाँदा जीत हार हुन्छ । जित्नेले हार्नेको सहयोग लिने र हार्नेले जितेकालाई साथ दिनुपर्ने हुन्छ । जित हारमा दुस्मनी नबढोस् ।’
यस्तै देउवाले सबैलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरे । ‘कोरोना विरुद्धको खोप लगाउन अति आवश्यक छ, यसलाई सबैले लगाउनु होला’, देउवाको आग्रह छ ।