कार्तिक १९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको बताएका छन् । एमसीसी पारित गर्नेबारे अमेरीकालाई गोप्य चिठी पठाएको भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषयले देशभरि तरंग आएको भन्दै प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताएका हुन् ।
देउसी खेल्न खुमलटारस्थित आफ्नो निवासमा आइपुगेको कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी परिवारसँग कुरा गर्दै प्रचण्डले एमसीसी सम्झौता पहिले सही नै भए पनि बीचमा थपिएका प्रवाधानहरुले प्रश्न उब्जाएको बताए । ‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले एउटा महाँ बोलिदिनुभएछ प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ’ प्रचण्डले भने, ‘त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ ।’
एमसीसी सम्झौता नसच्याई पारित नहुने बताउँदै प्रचण्डले अगाडि भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरूसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय पनि चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ, त्यसको निदान कसरी गर्न सकिन्छ, उपाय निकाल्छौँ भनेर लेखेको चिठी हो । हामी पास गर्छौं भनेर लेखेको चिठी होइन । यो कुरा प्रष्ट होस् ।’
प्रचण्डले एमसीसी यथास्थितिमा पारित नहुनेमा जोड दिँदै भने, ‘यसको समाधान पनि ओरिजिनल सहमतिसँग डराउनुपर्ने कुरा छैन, बीचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने भन्ने आम जनतालाई लागिसकेपछि यसलाई सम्वोधन नगरिकन यसलाई पारित गर्न सकिँदैन ।’
एक अर्को प्रसंगमा माओवादी अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन चुनावसम्मै जाने र चुनावमा सकेसम्म तालमेल गरिने बताए ।