कार्तिक २०, काठमाडौँ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनमा ५ लाख मानिस सहभागी गराउने गरी तयारी सुरु भइसकेको दाबी गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले मंसिर १० गते नारायणी किनारामा हुने उद्घाटन कार्यक्रममा वाग्मती र त्यस आसपासका प्रदेशबाट मानिस जुटाउने गरी तयारी सुरु गरेको जनाएको हो ।
एमालेको मुल व्यवस्थापन कमिटीका सह संयोजक सुरेन्द्र पाण्डेले वाग्मती प्रदेशबाट साढे २ लाख मानिस सहभागी गराउने गरी तयारी भएको बताए । उनले प्रदेश २ कमिटीले १ लाख, लुम्बिनीले ७५ हजार, गण्डकी प्रदेशले ५० हजार र प्रदेश १ बाट २५ हजार सहभागी गराउने निर्णय गरेको जानकारी दिए ।
एमालेले उद्घाटनको दिन अहिलेसम्मकै सबैभन्दा ठूलो आमसभामा गर्ने बताउँदै आएको छ । पाण्डेका अनुसार वाग्मती प्रदेशले पनि विभिन्न जिल्लाहरुलाई उद्घाटन कार्यक्रममा सहभागी हुनेहरुको संख्या निर्धारण गरेको छ ।
जसअनुसार चितवन जिल्लाबाट ७५ हजार, काठमाडौं उपत्यकाबाट ५० हजार, मकवानपुरबाट ३० हजार, धादिङ र सम्पर्क मञ्चबाट २५/२५ हजार, सिन्धुलीबाट १५ हजार, नुवाकोट र काभ्रेबाट १०/१० हजार, सिन्धुपाल्चोकबाट ८ हजार, रामेछाप र दोलखाबाट ५/५ हजार र रसुवाबाट १ हजार सहभागी हुने छन् ।
यस्तै, २२ वटा जनवर्गीय संगठनको गत बिहीबार भएको बैठकले केन्द्रीय सदस्य खिमलाल भट्टराईको नेतृत्वमा केन्द्रीय जनपरिचालन समिति गठन गरेको छ । वाग्मतीले उद्घाटन कार्यक्रममा सहभागिताका लागि कात्तिक २३ गते काठमाडौंमा भेलाको आयोजना गर्दैछ । महाधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।