असार ६,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो रहेको बताएका छन् । बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।
उनले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सीमाना भएको पनि बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पहिलो कदम भए पनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे।
उनले भने, ‘सगरमाथा विश्व शिखरमात्रै होइन, विश्वकै अग्लो सीमाना पनि हो । योभन्दा अग्लो सीमाना दुनियाँमा कतै छैन । तर अनौठो कुरा यो प्राकृतिक सीमाना जति अग्लो छ । त्योभन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ । हाम्रो भाषा र संस्कृतिको सम्बन्ध पनि त्यति नै नजिकको छ ।’
मन्त्री किरातीले चिनियाँ नेपाल आउँदा भान्जाभान्जी आएकोजस्तो लाग्ने गरेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै विस्तार र सुदृढ बनाउनुपर्ने बताए ।