हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र ५, मंगलबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ५,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिजुली उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताएका छन् । आज मङ्गलवार भरतपुर २२०/१३२ केभी सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले देशभित्र उत्पादित बिजुली यहीँ खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तीव्रता दिन र बाँकी भएको बिजुली निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गरे ।

‘एउटा छिमेकी देश भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ, यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्दैछौँ । नेपालको बिजुली बङ्गलादेशसम्म पुर्‍याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ’, उनले भने, ‘अर्को छिमेकी देश चीनको भ्रमणमा छिट्टै जाँदैछु, चीनसँग प्रसारण लाइन र बिजुली व्यापारका विषयमा सम्झौताहरू हुँदैछन्, यसबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने छ ।’

प्रधानमन्त्रीले जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गा अधिग्रहणको समस्या मौजुदा कानुनको संसोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने बताए । १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् रूपान्तरणकारी आयोजना र १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औचारिक रूपमा प्राधिकरणलाई दिन लागिएको उनले उल्लेख गरे ।

प्रचण्डले नयाँ भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन पूर्व पश्चिम बिजुली आपूर्तिका लागि रणनीतिक महत्त्वको रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस