फागुन २,काठमाडौँ । समुहगत विवादका कारणले उद्घाटन भएर पनि स्थगित नेकपा एमाले धादिङ जिल्ला कमिटीको अधिवेशन सुरु भएको छ । अध्यक्ष मण्डल चयन, प्रतिनिधि मनोनयन लगायतबारे विवाद हुँदा गत १९ माघमा उद्घाटन भएको अधिवेशन २२ माघमा स्थगित भएको थियो ।
आजबाट सुरु भएको अधिवेशनमा जिल्ला नेतृत्व लिन प्यानलगत प्रतिस्पर्धा हुने देखिएको छ । निवर्तमान अध्यक्ष भूमि त्रिपाठीले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिव राधिका सापकोटा, खुला उपसचिवमा भक्त लामिछाने र महिला उपसचिवमा उर्मिला रेग्मीको उम्मेदवारी परेको छ ।
त्यस्तै पार्टीको प्रदेश कमिटी सदस्य रामकुमार अधिकारीले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपाध्यक्षमा रामकुमार आचार्य, सचिवमा हरिराम लोहनी र महिला उपसचिवमा खुपीकुमारी तामाङ उम्मेदवार छन् । खुला उपसचिवमा यो प्यानलले पनि भक्त लामिछानेलाई नै समर्थन गरेको छ ।
तर खुला उपसचिवमा काजी श्रेष्ठ र दीपक खड्काले पनि उम्मेदवारी दिएकाले लामिछाने सर्वसम्मत हुन बने सकेनन् ।