जेठ ३०, काठमाण्डौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भोली हामी पनि ज्येष्ठ बन्छौँ भन्ने कुरा कसैले भुल्न नहुने बताएकी छिन् ।
रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशले राष्ट्रिय युवा परिषद् भक्तपुरसँगको समन्वय तथा गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाको सहयोगमा वैदेशिक रोजगारमा गएका युवाहरूको घरपरिवारका दिदीबहिनीहरूको उद्यमशीलता विकासका लागि आयोजना गरेको एक महिने ब्युटिसियन तालिमको समापन कार्यक्रमलाई सम्बोधन उनले आफ्नो आमाबुवाप्रतिको दायित्व कुनैपनि सन्तानले भुल्न नहुने बताईन् ।
‘ज्येष्ठ नागरिक हामी सबैको पूजनीय आमा, बुवा हुन् । तर अहिलेको अवस्थामा सन्तानले आफ्नो बुवा आमालाई बिर्सेर केयर होम तथा वृद्धाश्रममा लैजाने प्रवृत्ति बढेको छ, मन्त्री चौधरीले भनिन्, ‘त्यो कुराको अन्त्यका निम्ति सबै पालिकामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र हुनपर्छ । त्यहाँ उनीहरू आआफ्नो अनुभव साटासाट गर्छन् । जसले गर्दा उनीहरूको रिफ्रेसमेन्ट हुन्छ र उसको बाँच्ने उमेर केही वृद्धि हुन सक्छ ।’
पालिका आफैँले पनि ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रहरू निर्माण गर्न सक्ने उनको भनाई थियो ।