कोशीमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ, कोइराला पक्ष बाहिरै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २८, शुक्रबार (८ महिना अघि)
  • ४९ पटक पढिएको
कोशीमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ, कोइराला पक्ष बाहिरै

भाद्र २८, काठमाण्डौँ ।  कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका नव नियुक्त चार जना मन्त्रीले शपथ लिएका छन् । कांग्रेस कोसीका महामन्त्री समेत रहेका प्रदेश सभा सदस्य भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस कोशी सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार बिहान शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ खुवाए । राई भौतिक पूर्वधार मन्त्री बनेका छन् भने सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् ।

भौतिक पूर्वाधार राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशीले शपथ लिएका छन् । एउटा मन्त्रालय भने कांग्रेसले अझै खाली राखेको छ ।  गत साउन १२ मै कोसी सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस डेढ महिनापछि शुक्रबार मन्त्रीसहित सरकारमा गएको हो । योसँगै कोसीमा २ राज्यमन्त्रीसहित एमाले–कांग्रेस गठबन्धनको १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

तर पार्टीभित्र भागबण्डा नमिल्दा नेता शेखर कोइराला पक्षका सांसदहरू मन्त्री बन्न पाएका छैनन् । कोइराला पक्षले दुई वटा मन्त्री आफूपक्षका सांसद हुनुपर्ने अडान राखेकोमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्ष सो भाग दिन तयार देखिएन ।

भागबण्डामा कुरो नमिल्दा कोइराला पक्षबिनै कांग्रेस सरकारमा गएको हो । कोशीमा चार वटा मन्त्रालय कांग्रेसले पाएको छ । त्यसमा कोइराला पक्षले दुई मन्त्रालयको दाबी गरेका थिए । ‘हाम्रो समूहलाई दुई वटा मन्त्रालय चाहिन्छ भन्ने अडान छ’, पूर्वमुख्यमन्त्री समेत रहेका कोइराला पक्षका सांसद केदार कार्कीले भने, ‘हामीसँग कुनै छलफल भएको छैन, नाम माग्ना साथ दिन्छौं ।’ सभापति देउवा पक्षले दुई जना, सिटौला पक्षले एक मन्त्री र एक राज्यमन्त्री तथा शेखर पक्षले एक मन्त्री र एक राज्यमन्त्री लिनुपर्ने निर्णय पार्टी संस्थापनले गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस