माघ १५, काठमाडौं । सरकारले भर्खरै ल्याएका अध्योदशहरु ‘फास्ट ट्रयाक’ बाट पारित गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सरकारले ल्याएको अध्यादेश आगामी हिउँदे अधिवेशनमा फास्ट ट्रयाकबाट पारित गर्ने जानकारी दिए ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले सरकारले जारी गरेका अध्यादेश संसदको आगामी अधिवेशनमा द्रुत मार्गबाट पारित गर्ने बताएका हुन् । सरकारले जारी गरेको अध्यादेश संसद सुरू भएको पहिलो दिन पेस गर्नुपर्ने र ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।
‘सरकारले सिफारिस गरेर राष्ट्रपतिबाट जारी भएको अध्यादेशहरू संसद् सचिवालयमा दर्ता गरिसकेका छौं । त्यो अध्यादेश फास्ट ट्रयाकबाट पारित गर्ने काम यो हिउँदे अधिवेशनमा हुन्छ,’ सञ्चारमन्त्री गुरूङले भने । अध्यादेश पारित भएपछि कार्यान्यवन गर्नका लागि नियमावली बनाउने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए ।