राजावादीले राजतन्त्र नआउञ्जेल प्रदर्शन जारी राख्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ जेष्ठ १५, बिहिबार (१८ घण्टा अघि)
  • ६३ पटक पढिएको
राजावादीले राजतन्त्र नआउञ्जेल प्रदर्शन जारी राख्ने

जेठ १५, काठमाडौं । राजतन्त्रको माग गर्दै राजावादी समुहद्वारा गठित संयुक्त जनआन्दोलन परिचालन समितिले गरेको आजको प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहीबारबाट काठमाडौं केन्द्रित सुरु गरेको आन्दोलन आजका लागि सकिएको छ ।

राप्रपासहितका राजावादी समूहले राजतन्त्र नआएसम्म आन्दोलनन जारी रहने बताएको छ । प्रदर्शनपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यो कास्टिङ मात्र भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर हुने बताएका हुन् ।

कार्यक्रमबाट एउटा सन्देश गएको भन्दै राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने नेता कमल थापाले बताए ।

‘जहाँ जहाँबाट तपाईंहरु समूहमा आउनु भयो, त्यही ठाउँमा भोलि १२ बजे जम्मा भएर फेरि जुलुस हुँदै काठमाडौंका सबै शहरमा नारा जुलुस लगाउँदै, काठमाडौंलाई उठाउँदै जगाउँदै आउनु होला’, उनले कार्यकर्तालाई आह्वान गर्दै भने, ‘दिनको १ बजेसम्ममा माइतीघर मण्डला र विजुली बजार क्षेत्रमा आउनु होला ।’

समितिले राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफुहरुको संयुक्त प्रयास भएको समितिले जनाएको छ ।

समितिले अब आफूहरु आन्दोलन निरन्तर अघि बढ्ने जनाएको छ । गणतन्त्र र गणतन्त्रले ल्याएको विकृतिका विरुद्ध आम रुपमा जनपरिचालन गरिने र व्यवस्था बदल्ने तागत सिर्जना गरिने समितिको दाबी छ ।

प्रदर्शनमा सहभागीहरुले ‘हिन्दू राष्ट्र कायम गर, राजसंस्था कायम गर, भ्रष्ट व्यवस्था चाहिँदैन’ लगायत नारा लगाएका थिए । कार्यक्रम अवधिभर घुसपैठ गर्न खोजेको आरोपमा राप्रपा नेता, कार्यकर्ताले ३ जनालाई समातेर प्रहरीको जिम्मा लगाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस