कार्तिक २८, काठमाडौं ।नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव वंसलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ ३ करोड १२ लाख रुपैयाँ तथा आयकरतर्फ ८ करोड सात लाख रुपैयाँ गरी कुल ११ करोड १९ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
वंसलले काठमाडौँमा सञ्चालन गरेको हस्पी केयर इन्टरनेसनल र श्रीश्याम ट्रेडर्सले वस्तु तथा सेवा खरिद नै नगरी झुठो तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर छली गरेको उक्त अनुसन्धानमा देखिएको हो । छली गरेको रकमबाट उनले नेपालीको नाममा विभिन्न भौतिक सम्पत्ति जोडेको फेला परेको छ ।
उक्त घटनामा सहयोगी बनेका दुवै कम्पनीका सञ्चालक रामसुन्दर राय र राकेश पाण्डेयसहित ११ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा यही कात्तिक २५ गते मुद्दा दर्ता गरिएको छ । अन्य आठ जना नेपाली उनको सम्पत्ति आफ्नो नाममा राखिदिएकाले मतियारका रूपमा मुछिएका हुन् ।
‘वंसलले ११ करोड १९ लाख ८४ हजार १६४ रुपैयाँ बिगो बराबरको आर्थिक अपराध गरेको भेटियो, बिगो असुलउपर गरी दोब्बर जरिवाना र तीन वर्ष कैदको माग गर्दै मुद्दा चलाएका छौँ,’ महानिर्देशक मैनालीले भने । उनले दुई वटा गाडी, एउटा घर तथा सर्जिकल सामग्री बिक्री गर्ने फार्म नेपालीको नाममा राखेर राजस्व छली गरेका हुन् । उनले यस्तो घटना विभागका लागि पहिलो भएको बताए ।
‘आर्थिक अपराधविरुद्ध विभागले सूक्ष्म निगरानी गरिरहेको छ, यो घटना त्यसैको उपलब्धि हो, यस्ता झन्डै ६० वटा फार्म अहिले पनि अनुसन्धानको दायरामा छन्,’ मैनालीले थपे । वंसलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत गरेको देखिएकाले विभागले अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरिएको छ ।
विभागले झुठो बिल जारी गरी ११ अर्बभन्दा बढी बिगो बराबरको राजस्व चुहावट गरी आर्थिक अपराध गरेको आरोप लागेका ४३१ व्यक्तिविरुद्ध मुद्दा चलाएको छ । उनीहरूमध्ये आठ जना भन्सार कर्मचारीसमेत छन् ।
राजस्व अनुसन्धान विभागले उनीहरूमाथि बिगो असुल गरी दोब्बर जरिवाना र तीन वर्ष कैदको माग दाबीसहित विभिन्न मुद्दा चलाएको छ । वंसल जस्ता केही विदेशी नागरिक पनि राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा मुछिएका छन् ।
यसरी पत्ता लाग्यो राजस्व छली
आठ वर्षअघि सर्जिकल सामानको व्यापारका लागि वंसल नेपाल छिरेका थिए । उनले गोरखा वेलफेयरमार्फत इसिजी पेपरको बिक्री व्यवसाय पनि गर्थे । उनले आपूर्ति बढी मूल्यमा गर्ने तर नक्कली बिलबाट न्यून खरिद (कम सामान आपूर्ति गरेको) देखाएर हिसाब मिलान गरी राजस्व छली गर्दै आएका थिए । आठ वर्षअघि व्यवसाय थाले पनि विभागले उनीविरुद्ध भने २०७५ साल माघदेखि मात्रै अनुसन्धान थालेको थियो ।
सुरुमा विभागले हस्पी केयर इन्टरनेसनललगायत फमका आर्थिक गतिविधि शंकास्पद लागेर अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा हस्पी केयरसँगै श्याम ट्रेडर्स पनि झुठो बिलबिजक बनाएर कर छलीमा तानियो । दुवै कम्पनी वंसलकै लगानीमा नेपालीको नाममा दर्ता गरेको भेटियो । गतिविधि थप शंकास्पद देखियो । झन्डै चार महिनाअघि अनुसन्धान नसकिँदै आफू पक्राउ पर्ने देखेपछि उनी नेपालबाट भाग्न सफल भएको विभागले जनाएको छ । ‘जब हामीले उनको घर पत्ता लगाएर छापा मार्न गयौँ, उनी केही घण्टाअघि नै निस्किएका रहेछन्,’ विभागका एक अनुसन्धान अधिकृतले भने ।
साथीकी श्रीमतीको नाममा घर
अनुसन्धानमा वंसलले सर्जिकल सामानको कारोबार गर्ने नेपाली साथीकी श्रीमतीको नाममा कोहिनुर हिल हाउजिङमा घर किनेको पत्ता लाग्यो । त्यसैगरी दुई वटा गाडी पनि नेपालीकै नाममा किनेर प्रयोग गर्दै आएका थिए तर गाडी पत्ता लगाउन विभागलाई ठूलो सकस भयो । खोज्दै जाँदा गाडी वर्ल्ड ट्रेड सेन्टरभित्र लुकाएर राखेको अवस्थामा फेला परेको थियो ।
विभागले अहिले दुई गाडी, एउटा घर नेपालीको नाममा किनिएको फेला पारेको छ । उनका तीन वटा सर्जिकल गोदाम सिल गरिएको छ । केही सामान स्थानान्तरण गरेको फेला परेको छ । वंसल फरार रहेकाले विभागले अहिले ४ करोड ८८ लाख रुपैयाँको सामान लिलाम बिक्री गरी विभागको धरौटी खातामा जम्मा गरेको छ । केही ठाउँबाट आउने ४० लाख रुपैयाँ भुक्तानीसमेत रोक्का गरिएको छ ।
उनले नक्कली नेपाली नागरिकतासमेत बनाएको भेटिएको विभागले जनाएको छ । विभागले यस्ता ६० भन्दा बढी फार्मको अनुसन्धान गरिरहेको जनाएको छ । (रासस)