नेपाल र यूएईबीच श्रम समझदारी नवीकरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ३१, बुधबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ ३१,काठमाडौँ । नेपाल र यूएईबीच चार वर्षअघि भएको श्रम समझदारी नवीकरण भएको छ । बुधवार काठमाण्डौमा बसेको दुई देशबीचको संयुक्त कार्य समितिको तेस्रो बैठकमा आउँदो चार वर्षका लागि यसअघि भएको श्रम समझदारी नवीकरण हुने समझदारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेलले जानकारी दिए।

श्रम मन्त्रालयले आयोजना गरेको द्विपक्षीय श्रम समझदारी अनुसारको संयुक्त कार्यसमिति बैठक नेपालकोतर्फबाट मन्त्रालयका रोजगार व्यवस्थापन शाखा प्रमुख सहसचिव राजिव पोखरेलले गरेका थिए ।

बैठकमा दुई देशबीच भएको समझदारीको कार्यान्वयन तथा प्रगतिको समीक्षा भएको छ ।

बैठकमा नेपालले श्रम समझदारीको पुनरावलोकन र नेपाल सरकारको श्रम तथा वैदेशिक रोजगार सम्बन्धी पछिल्लो कानुनहरूबारे जानकारी गराएको छ ।

यूएईमा काम गर्ने नेपालीको न्यूनतम तलबको सुनिश्चितता हुनु पर्ने, ज्यान गुमाएकाहरूको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था हुनु पर्ने, जेल तथा कैदमा रहेका नेपाली श्रमिकहरूको विवरण तथा अलेखवद्ध रूपमा यूएईमा रहेका नेपाली श्रमिकहरूलाई आममाफीसहित नेपाल फिर्तीमा सहजीकरण गरिदिन नेपालले यूएईलाई प्रस्ताव गरेको छ ।

यसका साथै नेपाली श्रमिकहरूको सीप स्तरोन्नतिका लागि द्विपक्षीय सहकार्य गर्ने कुरा पनि नेपालले बैठकमा उठाएको छ ।

यूएई सरकारको तर्फबाट नेतृत्व गरेका ‘असिस्टेन्ट अन्डर सेक्रेटरी’ अब्दुलला अली अलनुयमीले नेपालले राखेको विषयहरू सम्बोधन गर्न यूएई सरकार सकारात्मक रहेको बताएका छन्।

यसका साथै बैठकमा यूएईले नेपालबाट घरेलु श्रमिक लैजान इच्छा देखाएको छ । नेपालबाट घरेलु श्रमिक लैजान इच्छुक रहेको बताउँदै त्यसको प्रक्रिया अघि बढाउनसमेत यूएईले आग्रह गरेको छ ।

कार्यसमितिको बैठकमा श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दुवै सरकारको भूमिका उल्लेखनीय रहेको बताउँदै भर्ना प्रक्रिया स्वच्छ र मर्यादित बनाउन जोड दिए ।

यसका लागि दुई देशका सरकारबीच आपसी सहकार्य अभिवृद्धि गर्दै जानु पर्ने उहाँनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस